अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ, २३ असार – सहआयोजक अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा बेल्जियमका चार्ल्स डे केटलेरले दुई तथा हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल गर्दै टोलीलाई सहज जित दिलाए।

खेलको नवौं मिनेटमै डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। तर ३१औँ मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अमेरिकालाई १–१ को बराबरीमा फर्काए। बराबरी भएको दुई मिनेटपछि नै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। त्यसपछि ५७औँ मिनेटमा हान्स भानकेनले गोल थप्दै टोलीको अग्रता ३–१ बनाए।

दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल थपेपछि बेल्जियम ४–१ को प्रभावशाली जित निकाल्न सफल भयो। यस जितसँगै बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियम सन् २०२२ को संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो।

अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता, घरेलु समर्थकमाझ खेलिरहेको अमेरिकाको २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना राउन्ड अफ–१६ मै समाप्त भएको छ।

Facebook Comments Box