राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता
वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिबारे आफूले जानकारी लिएको र आवश्यक सहयोगका लागि अमेरिका तयार रहेको बताउनुभएको हो।
अमेरिकी सञ्चारमाध्यम एनबिसी न्यूजका अनुसार राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताउनुभएको छ। भोटेकोशी बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ मानिस बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेका बेला विभिन्न मुलुकले नेपाललाई सहयोगको प्रतिबद्धता जनाएका छन्।
यसअघि अमेरिकी सरकारले नेपालमा बाढीबाट प्रभावित समुदायका लागि पाँच लाख अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ। उक्त सहयोग आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सेवामा प्रयोग गरिने जनाइएको छ।

