आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस
काठमाडौँ, ५ भदौ – आतङ्कवादबाट पीडित तथा प्रभावित व्यक्तिको सम्झना, सम्मान र अधिकार संरक्षणका लागि आज विश्वभर ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१७ मा आतङ्कवादका पीडित तथा त्यसबाट बाँचेकालाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको थियो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२० मा सार्वजनिक गर्नुभएको प्रतिवेदनमा आतङ्कवादका पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो। संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवाद नियन्त्रण, हिंसात्मक अतिवादको रोकथाम, अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रवद्र्धन तथा पीडितका मानव अधिकार संरक्षणमा जोड दिँदै आएका छन्।
सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता आतङ्कवादका पीडितलाई अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा दिइने सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा आतङ्कवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ।
सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादीबाट हुने यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र उनीहरूको आवश्यकतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको थियो। उक्त प्रस्तावले सदस्य राष्ट्रलाई आतङ्कवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गरेको छ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२२ सेप्टेम्बरमा आफ्नो मुख्यालयमा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलनसमेत आयोजना गरेको थियो। राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम तथा ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’मार्फत आतङ्कवादका पीडितका अधिकार र आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्दै आएको छ।
उक्त कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घीय निकायलाई आतङ्कवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयनका लागि रणनीतिक नेतृत्व, समन्वय तथा क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ। साथै, आतङ्कवादका पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन नागरिक समाज तथा निजी क्षेत्रका संस्थासँग सहकार्य गर्न पनि राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले प्रोत्साहन गर्दै आएको छ।

