वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति, आन्दोलन स्थगित

काठमाडौँ, १ भदौ – आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सहमति भएपछि सङ्घले आन्दोलन स्थगित गरेको छ।मन्त्री र सचिवसहित सङ्घका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच सोमबार भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।

सङ्घले साउन २२ गतेदेखि १५ बुँदे माग राख्दै ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो। साथै, भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने निर्णयसमेत गरेको थियो।

छलफलमा सङ्घका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको मन्त्रालयले जानकारी गराएको छ।

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन संशोधन प्रक्रिया यथाशीघ्र टुङ्गोमा पुर्‍याउन मन्त्रालय र सङ्घले अधिकतम प्रयास गर्ने सहमति भएको छ।

यस्तै, व्यवसायीले कानुनअनुसार आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा आफ्ना माग राख्न सक्ने र विभागबाट समाधान नभए मन्त्रालयमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेकाले सोही प्रक्रियाबाट अघि बढ्ने सहमति भएको छ।

सहमति भएसँगै सङ्घले भदौ १ गतेदेखि सञ्चालन गरेका सम्पूर्ण दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments Box