बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित

काठमाडौं, १४ साउन – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा अवरुद्ध र केही एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथ साउन १२ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।

दोलखाको लामासाँघु–रामेछाप सडक र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। दोलखामा भने वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। कोशी प्रदेशमा इलामको मेची राजमार्ग अविरल वर्षापछि आएको पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै, भोजपुरस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

बागमती प्रदेशका काभ्रे र मकवानपुरमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रेको बीपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र मकवानपुरको कान्तिलोकपथ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने व्यवस्था गरिएको छ।

गण्डकी प्रदेशको बाग्लुङस्थित कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ। भने गोरखाको आरुघाट–गोरखा सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। उता, कर्णाली प्रदेशका रुकुम पश्चिमको भेरी करिडोर र जाजरकोट–डोल्पा सडक खण्ड पनि बाढी र वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले वर्षा र प्राकृतिक प्रकोपका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि स्थानीय प्रहरी वा सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैमा आग्रह गरेको छ।

Facebook Comments Box