जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प,सपिङ मलमा विस्फोट, तीन जनाको मृत्यु
काठमाडौं । जापानको दक्षिणी कुमामोटो प्रदेशमा ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । भूकम्पपछि एइअन सपिङ मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको कुमामोटो प्रान्तीय सरकारले जनाएको छ । उद्धार गरिएकामध्ये दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना हृदय र श्वासप्रश्वास बन्द भएको अवस्थामा फेला परेका छन् ।
जापानको अग्नि नियन्त्रण निकाय, प्रहरी र सेल्फ डिफेन्स फोर्सले खोज तथा उद्धार अभियान जारी राखेका छन् । भवनभित्र अझै मानिस फसेको आशंकामा उद्धार कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताउँदै केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको, आगलागी भएको तथा सडक, पुल र भवनमा व्यापक क्षति पुगेको जानकारी दिएकी छन् ।
भूकम्पपछि करिब तीन लाख मानिसलाई सुरक्षित स्थान र अस्थायी आश्रय केन्द्रमा जान निर्देशन दिइएको छ । लगातार परकम्प आइरहेकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। भूकम्पका कारण मुख्य राजमार्गमा चिरा परेका छन् भने रेल सेवा स्थगित गरिएको छ । कुमामोटो विमानस्थलको धावनमार्ग बन्द भएपछि धेरै उडान रद्द भएका छन् ।
यसैबीच, टीएसएमसी, सोनी, फुजिफिल्म, टोकियो इलेक्ट्रोन र होन्डालगायतका प्रमुख उद्योगहरूले कर्मचारीलाई सुरक्षित स्थानमा सार्दै केही उत्पादन अस्थायी रूपमा स्थगित गरेका छन् । जापानको मौसम विज्ञान निकायका अनुसार भूकम्पको केन्द्रबिन्दु कुमामोटो सहरबाट करिब २० किलोमिटर दक्षिणमा रहेको थियो।
आगामी एक सातासम्म शक्तिशाली परकम्प आउन सक्ने तथा पहिरोको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ । भूकम्पपछि करिब ४८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। यद्यपि, प्रभावित क्षेत्रमा रहेका आणविक विद्युत् केन्द्रहरूमा कुनै असामान्य अवस्था नदेखिएको जापानको आणविक नियमन प्राधिकरणले जनाएको छ।

