चिकित्सकमाथिको आक्रमणको विरोधमा आज पनि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
काठमाडौँ, १३ साउन – नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो।
मंगलबार बसेको सङ्घको आकस्मिक केन्द्रीय बैठकले बुधबार देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो। घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाही नगरेको र न्याय माग्न गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप सङ्घले लगाएको छ। सङ्घले उक्त घटनालाई अत्यन्तै लज्जास्पद भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
आन्दोलनका कार्यक्रमअनुसार आज बिहान १० बजे काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शनमा सहभागी हुनेछन्। उपत्यका बाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामै धर्ना दिएर विरोध जनाउने कार्यक्रम तय गरिएको नेपाल चिकित्सक सङ्घले जनाएको छ।

