आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेको छ ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
मौसम विभागले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी–खोला आसपास र पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा यात्रा गर्दा मौसमसम्बन्धी पछिल्लो सूचना पालना गर्न आग्रह गरेको छ ।

