बर्डफ्लु नियन्त्रणउन्मुख, चार महिनायता नयाँ सङ्क्रमण पुष्टि भएन

काठमाडौँ, ९ साउन – पछिल्ला चार महिनायता पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बर्डफ्लु अर्थात् एभियन इन्फ्लुएन्जा सङ्क्रमण नियन्त्रणउन्मुख बनेको छ। पशुसेवा विभागका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ सङ्क्रमण पुष्टि भएको छैन। महानिर्देशक डा. उमेश दाहालले हाल विभिन्न जिल्लाबाट आएका शङ्कास्पद नमुनाको परीक्षण गर्दा सबैको नतिजा नकारात्मक आएको जानकारी दिनुभयो।

विभागले रोग नियन्त्रणमा आए पनि जोखिम पूर्ण रूपमा समाप्त नभएकाले पोल्ट्री फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, शङ्कास्पद लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन र नियमित निगरानी जारी राख्न किसानलाई आग्रह गरेको छ। यस वर्ष बर्डफ्लु पहिलोपटक २०८२ चैत ४ गते मोरङमा पुष्टि भएको थियो। त्यसपछि मोरङ, सुनसरी, झापा, चितवन, नवलपरासी, बारा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा सङ्क्रमण फैलिएको थियो।

महामारी नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजारभन्दा बढी पन्छी, ११ लाख ६५ हजारभन्दा बढी अण्डा र दुई लाख ४५ हजार किलोग्रामभन्दा बढी दाना नष्ट गरिएको विभागले जनाएको छ। प्रभावित किसानलाई राहतस्वरूप ५२ करोड रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म १०४ जना कृषक तथा पोल्ट्री फार्मलाई ५० करोड ७१ लाख १५ हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकिएको पशुसेवा विभागले जनाएको छ।

Facebook Comments Box