सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्बभन्दा बढी बिगो दाबी
काठमाडौँ, ८ साउन – सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा दायर गर्दै १२१ जनाविरुद्ध अभियोजन गरेको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार ती प्रतिवादीविरुद्ध करिब एक खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
विभागमा प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ समितिमा छलफल गरी आवश्यक ठहरिएमा अनुसन्धान अधिकृत तोकी अनुसन्धान प्रक्रिया अघि बढाइने व्यवस्था रहेको छ। अनुसन्धान तथा अभियोजनका लागि विभागमा चारवटा अनुसन्धान शाखासहित कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा सञ्चालनमा रहेका छन्।
विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क, व्यापारसम्बन्धी मनी लाउन्डरिङ तथा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको छ। पछिल्ला दिनमा यस्ता कसुरको अध्ययन, अनुसन्धान र तहकिकातलाई थप तीव्र बनाइएको विभागले जनाएको छ।

