गुराँसले ढकमक्क ‘मुन्दुम ट्रेल’, पर्यटकको आकर्षण बढ्दो
काठमाडौँ, २० वैशाख – मुन्दुम ट्रेल पदमार्गमा यतिबेला विभिन्न रङ र प्रजातिका गुराँस फुलेर वातावरण अत्यन्तै मनमोहक बनेको छ। नेपाल सरकारले निर्धारण गरेका १०० प्रमुख पर्यटकीय गन्तव्यमध्ये पर्ने यो पदमार्ग वसन्त ऋतुमा अझै आकर्षक देखिएको छ।
साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु हुने मुन्दुम ट्रेल आसपासका वन र घाँसेमैदानमा रातो, सेतो र गुलाबी गुराँस ढकमक्क फुलेका छन्। लालीगुराँस, चिमाल र चाँपले सजिएको यो क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको स्थानीयले बताएका छन्।
हालै पदयात्रा पूरा गरेका ओजनबाबु आचार्य नेतृत्वको टोलीले यो क्षेत्र अत्यन्तै रमणीय रहेको अनुभव साझा गरेको छ। टोलीका सदस्यहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका गुराँसका तस्बिरले थप पर्यटकलाई आकर्षित गरिरहेको छ। यो पदमार्ग टेम्केडाँडा (३,१६५ मिटर), साल्पापोखरी (३,७५० मिटर) हुँदै सिलिचुङ (४,१६५ मिटर) सम्म फैलिएको छ।
खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सीमामा पर्ने यो क्षेत्र किराँत समुदायको ऐतिहासिक र सांस्कृतिक धरोहरसँग जोडिएको छ। मुन्दुम ट्रेल प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाको अद्वितीय संगमका रूपमा परिचित छ। यहाँ रेडपाण्डा, थार, विभिन्न चराचुरुङ्गी तथा जडीबुटीका प्रजातिहरू समेत पाइन्छन्।
स्थानीयका अनुसार वसन्त र शरद् ऋतुमा यो पदमार्ग यात्रा गर्न उपयुक्त मानिन्छ। यात्राका क्रममा पर्यटकले चौँरीको दूध, स्थानीय परिकार, घोडा चढ्ने अनुभव र गोठ–स्टेमा बस्ने अवसर समेत पाउँछन्। गुराँसको फूलले ढाकिएको यो क्षेत्र अहिले प्रकृतिप्रेमी र पदयात्रा रुचाउनेहरूका लागि प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ।

