नास्पातीका क्रेटमा लुकाइएको ६५२ केजी गाँजा बरामद, तीन जना पक्राउ
सिरहा, ७ साउन – सिरहाको लहान नगरपालिका–३ नयाँबस्ती टोलबाट नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा फेला परेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल प्लास्टिकसहित ६६३ केजी र प्लास्टिक हटाउँदा ६५२ केजी रहेको छ। साथै, पिकअपमा रहेको करिब ९,९२० केजी नास्पाती पनि नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ निवासी ३८ वर्षीया श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेशनमा ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको हो।प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
साथै, बरामद गाँजाको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिको पहिचान गर्न अनुसन्धानलाई थप विस्तार गरिएको डीएसपी पालले जानकारी दिनुभयो। बरामद पिकअप, गाँजा र अन्य सामग्री नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

