आज पुष्पलालको ४८औँ स्मृति दिवस

काठमाडौँ, ७ साउन –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दलले पुष्पलालको योगदानको स्मरण गर्दै देशका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रम आयोजना गरेका छन्।

वि.सं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक नेतामध्ये एक मानिन्छन्। उहाँ सहिद गंगालाल श्रेष्ठका भाइ पनि हुनुहुन्थ्यो। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गर्नुभएको मानिन्छ।

वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गर्नुभएको थियो। त्यसभन्दा अघि वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरी राणा शासनविरुद्ध राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

पुष्पलालले पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेससहितका प्रजातान्त्रिक शक्तिसँग संयुक्त जनआन्दोलन गर्नुपर्ने धारणा अघि सार्नुभएको थियो, जसलाई नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण राजनीतिक दृष्टिकोणका रूपमा लिने गरिन्छ। वि.सं. २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा उहाँको निधन भएको थियो।

स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) को राजधानी प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ। नेपाली कम्युनिस्ट पार्टीलगायत अन्य वामपन्थी दलले पनि देशका विभिन्न स्थानमा पुष्पलालको योगदानको स्मरण गर्दै विविध कार्यक्रम सञ्चालन गरिरहेका छन्।

Facebook Comments Box