पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन मौसम विभागको आग्रह
काठमाडौँ, ७ साउन – जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमा रहेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
हिमाली क्षेत्रमा केही स्थानमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशका हिमाली भूभागका थोरै स्थानमा तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न महाशाखाले अनुरोध गरेको छ।

