निरन्तर वर्षाले इलामको सडक सञ्जाल ठप्प, पाँचथर र ताप्लेजुङसँगको सम्पर्क विच्छेद
इलाम, २९ असार – लगातार दुई दिनदेखि परेको वर्षाले इलामको सडक सञ्जाल प्रभावित बनेको छ। पहिरो, सडक भासिनु र खोलामा आएको बाढीका कारण इलाम सदरमुकामबाट पाँचथर र ताप्लेजुङ जाने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडक खण्डमा चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबार मोटरसाइकललाई सीमित रूपमा आवतजावत गर्न दिइएको भए पनि सोमबार सडक थप भासिएपछि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा आइतबारदेखि बाढी बगेपछि उक्त सडक पनि अवरुद्ध भएको छ। त्यसैगरी, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा फास्ट ट्र्याकअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट पनि बाढी बगिरहेकाले यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।
सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा खोला र जोगमाई खोलामा जडान गरिने बेलीब्रिज भारतबाट हालसम्म नआएकाले वैकल्पिक व्यवस्था गर्न कठिन भएको छ। यसले सडक सञ्चालन पुनः सुचारु गर्न थप ढिलाइ हुने देखिएको छ। मुख्य सडक बन्द भएपछि झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङ जाने मालवाहक सवारीसाधन माइखोलापारि रोकिएका छन्।
इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलका अनुसार खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री बोकेका ट्रक अलपत्र परेका छन्। उहाँले ट्रकको पालबाट पानी चुहिँदा खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीसमेत बिग्रने जोखिम बढेको बताउँदै इलाममा आवश्यक सामग्री आपूर्ति गर्न अब तमोर करिडोरमार्फत महँगो लागतमा ढुवानी गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गर्दै गन्तव्यतर्फ जान बाध्य भएका छन्। लगातारको वर्षासँगै थप पहिरो र बाढीको जोखिम रहेकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

