खुकुरी प्रहारबाट हत्या, एकै परिवारका तीन जना पक्राउ

खोटाङ, २७ असार – खोटाङमा मजदुरीको पारिश्रमिक माग्न गएका एक व्यक्तिको खुकुरी प्रहारबाट हत्या भएको घटनामा एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको बिहीबार खुकुरी प्रहारबाट मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घटनालगत्तै तीलकबहादुर पक्राउ परेका थिए भने मृतकका आफन्तले भोटीमाया र सीताविरुद्ध किटानी जाहेरी दिएपछि शुक्रबार उनीहरूलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रहरीका अनुसार तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न पुगेका अधिकारीमाथि विवादका क्रममा खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि तीलकबहादुर आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए। प्रहरीका अनुसार मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबारसम्बन्धी विवाद रहेको देखिएको छ। सोही विवादका क्रममा खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ।

Facebook Comments Box