बाँकेका खेत धुलाम्मे, वर्षा नहुँदा धान रोपाइँ प्रभावित
नेपालगञ्ज, १५ असार – पर्याप्त वर्षा नहुँदा बाँके जिल्लाका अधिकांश खेत अझै धुलाम्मे छन्। असारको मध्यसम्म पनि पानी नपरेपछि धान रोपाइँ प्रभावित भएको छ भने कतिपय स्थानमा बीउ राखिएका ब्याडसमेत चिरा परेका छन्। राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगतका वर्षमा यस्तो अवस्था नदेखिएको बताउँदै यस वर्ष पानीको अभावले किसान चिन्तित बनेको सुनाए।
“सिँचाइको वैकल्पिक व्यवस्था छैन। वर्षाको भरमा खेती गर्नुपर्छ, त्यसैले अहिले निकै कठिन भएको छ,” उनले भने। उनका अनुसार आफ्नो १० कट्ठा जग्गासहित अधियाँमा करिब डेढ बिघा क्षेत्रफलमा धान खेती गर्दै आएका छन्। यस वर्ष समयमै वर्षा नभए उत्पादन घट्ने र त्यसको प्रत्यक्ष असर परिवारको जीविकोपार्जनमा पर्ने उनको चिन्ता छ।
हरेक वर्ष अधियाँ खेतीबाट करिब १० क्विन्टल धान उत्पादन हुने गरेको उल्लेख गर्दै उनले अहिले पनि वर्षाको प्रतीक्षामा रहेको बताए। जिल्लाका केही क्षेत्रमा सिक्टा सिँचाइ आयोजना र डिपबोरिङमार्फत सिँचाइ सुविधा भएकाले सीमित मात्रामा रोपाइँ सुरु भए पनि अधिकांश खेत अझै सुक्खा छन्। विशेषगरी डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका दक्षिणी क्षेत्रका खेत धुलाम्मे अवस्थामा रहेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै भदौको पहिलो सातासम्म धान रोप्न सकिने जानकारी दिए। उनका अनुसार किसानले तयार पारेका ब्याडमा रहेका बिरुवा अझै धेरै ठूलो नभएकाले केही दिनभित्र वर्षा भए रोपाइँ गर्न सहज हुनेछ।
“मौसम पूर्वानुमानअनुसार अब केही दिनभित्र वर्षा सुरु हुने अपेक्षा छ। त्यसपछि खेत तयार गर्न केही समय लाग्ने भएकाले करिब एक सातापछि रोपाइँले गति लिने विश्वास गरेका छौँ,” उनले भने। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा धान रोपाइँ हुने कुल ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये असार १२ गतेसम्म केवल १६८.९ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको करिब ०.५ प्रतिशत मात्रै हो।
केन्द्रका अनुसार वर्षा नहुँदा कतिपय किसानले धानको ब्याडसमेत तयार गर्न सकेका छैनन्। गत वर्ष भने जिल्लाको कुल रोपाइँयोग्य क्षेत्रमध्ये करिब ११ प्रतिशत जमिनमा यही अवधिसम्म धान रोपाइँ सम्पन्न भएको थियो।

