मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ, १२ असार – हाल देशका कोशी, मधेस र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य स्थानमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो हिमाली र पहाडी क्षेत्र तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई, मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा चल्ने सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्न सक्ने अनुमान गरिएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कोशी प्रदेशको तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका तराईमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने सम्भावना रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।

Facebook Comments Box