विश्वकप फुटबलः जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा
काठमाडौँ, १२ असार – इक्वेडरले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा आज सम्पन्न खेलमा पुनरागमन जित निकाल्दै इक्वेडरले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
खेलको दोस्रो मिनेटमै लेरोय सानेले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, इक्वेडरले सात मिनेटपछि नै खेलमा फर्कियो। खेलको नवौँ मिनेटमा निल्सन एङ्गुलोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। बराबरीपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि दोस्रो हाफको ७७औँ मिनेटमा लियो गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा इक्वेडर विजयी भयो।
यसै समूहको अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आइभरी कोस्टका लागि निकोलस पेपेले खेलको सातौँ र ६४औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। समूह ‘ई’ मा जर्मनीले तीन खेलबाट ६ अङ्क जोड्दै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
समान ६ अङ्क रहेको आइभरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बनेर अघिल्लो चरणमा पुगेको छ। चार अङ्क जोडेको इक्वेडर भने तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीमध्ये परेर नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। एक अङ्कमा सीमित रहेको कुरासाओको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ।

