आइभरी कोस्ट समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ, १२ असार – आइभरी कोस्टले कुरासाओलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान सम्पन्न समूह ‘ई’ को खेलमा आइभरी कोस्टको जितमा निकोलस पेपे नायक बने। उनले खेलको सातौँ र ६४औँ मिनेटमा एक–एक गोल गर्दै टोलीलाई सहज जित दिलाए।

यस नतिजासँगै आइभरी कोस्टले तीन खेलबाट दुई जित र एक हारसहित ६ अङ्क जोड्यो। जर्मनीसँग समान अङ्क भए पनि गोलअन्तरमा पछि परेपछि आइभरी कोस्ट समूह उपविजेतामा सीमित रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। जर्मनीले पनि तीन खेलबाट ६ अङ्क जोड्दै गोलअन्तरका आधारमा समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको छ।

यसै समूहको अर्को खेलमा इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गर्दै चार अङ्क जोड्यो। तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये परेपछि इक्वेडरले पनि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। कुरासाओ भने तीन खेलमा एक बराबरी र दुई हारसहित एक अङ्कमै सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

Facebook Comments Box