बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बस नरोकेको आरोपमा चालक कारबाहीमा

काठमाडौं, २५ जेठ  – बौद्धिक अपाङ्गता भएका एक व्यक्तिलाई सार्वजनिक बसमा चढाउन नमानिएको घटनामा संलग्न बस चालकलाई जिल्ला प्रहरी कार्यालय कास्की ले कारबाही गरेको छ। पोखरा महानगरपालिका–३२ लेखनाथ क्षेत्रमा बौद्धिक अपाङ्गता भएका एक व्यक्तिले सार्वजनिक सवारी रोक्न खोज्दा बस नरोकी अघि बढेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।

पीडित व्यक्तिले पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले उक्त भिडियो सार्वजनिक गरेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की ले आवश्यक खोजतलास तथा कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की लाई निर्देशन दिएको थियो। अनुसन्धानका क्रममा ग २ ख २२५५ नम्बरको सार्वजनिक बस पहिचान गरी नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार बस चालकलाई प्रचलित ट्राफिक नियमअनुसार जरिवाना गरिएको छ। साथै, भविष्यमा फरक क्षमता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका नागरिक तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता गराएपछि चालकलाई छाडिएको छ।

घटनाबारे जानकारी दिँदै वीरेन्द्र कुमार पासवान ले सार्वजनिक यातायात सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न यस्ता व्यवहार दोहोरिन नदिन चालकलाई सचेत गराइएको बताए। प्रहरीले सार्वजनिक सवारीसाधन सञ्चालकहरूलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य विशेष आवश्यकता भएका यात्रुप्रति संवेदनशील हुन आग्रह गरेको छ।

Facebook Comments Box