आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै
काठमाडौँ, १५ जेठ – अर्थमन्त्री स्वर्णिम वाग्ले ले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि करिब दुई तिहाइ जनमतसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो पहिलो पूर्ण बजेट ल्याउन लागेको हो ।
अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा पार्टीको निर्वाचन घोषणापत्र, सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको छ । सङ्घीय संसद्का दुवै सदनका सांसदहरूको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता तथा सरकारको सुशासनसम्बन्धी मार्गचित्रलाई समेत बजेटको मुख्य आधारका रूपमा समेटिएको मन्त्रालयले जनाएको छ ।
नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने संवैधानिक अभ्यासअनुसार आज दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट सार्वजनिक गरिने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी तथा परिणाममुखी बनाउने लक्ष्य राखिएको सरकारको भनाइ छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ निर्धारण गरेको थियो । विभिन्न सरोकारवाला निकायबाट प्राप्त राय, सुझाव र अपेक्षालाई समेत बजेटमा समेटिएको जनाइएको छ ।
चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइएको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै गठन भएको सरकारले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरेको थियो । उक्त समीक्षा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल ले प्रस्तुत गर्नुभएको थियो ।

