दक्षिणी लेबनन खाली गर्न इजरायलको आदेश, क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा

काठमाडौं, १३ जेठ – इजरायल ले दक्षिणी लेबनन को ठूलो भूभाग खाली गर्न आदेश दिएको छ । नयाँ सैन्य आक्रमणअघि इजरायली सेनाले उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको हो । इजरायल रक्षा बल (आईडीएफ) ले बिहीबार जारी गरेको सूचनामा स्थानीय बासिन्दालाई जहरानी नदीको उत्तरतर्फ सर्न आग्रह गरिएको छ । उक्त नदी इजरायली सीमाबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ ।

आईडीएफले हेजबुल्लाहविरुद्ध ‘अत्यन्त कडा’ सैन्य कारबाही गरिने चेतावनी दिँदै युद्धविराम पटक–पटक उल्लंघन भएको आरोप लगाएको छ । अप्रिल १७ मा लागू भएको युद्धविरामपछि यो सबैभन्दा ठूलो स्तरको आक्रमण आदेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसले लेबननको करिब १४ प्रतिशत भूभाग प्रभावित हुने अनुमान गरिएको छ । यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो ।

उता हेजबुल्लाह ले पनि इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । संगठनले आफ्ना लडाकु र इजरायली सेनाबीच झडप भएको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले बुधबार हेजबुल्लाहले दक्षिणी लेबननमा तैनाथ सैनिक र उत्तरी इजरायलका नागरिकलाई लक्षित गरी ड्रोन आक्रमण गरेको आरोप लगाएका थिए । त्यसपछि उनले दक्षिणी लेबननमा जारी सैन्य कारबाही थप विस्तार गर्ने चेतावनी दिएका छन् ।

Facebook Comments Box