विषालु च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु

पाल्पा,  ८ जेठ – जङ्गली विषालु च्याउ सेवन गर्दा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिनिमाया कामु मगरबालकुमारी खाम्चा मगर रहेका छन् । रम्भा गाउँपालिका–५ निवासी ६६ वर्षीया कामु मगर र ३७ वर्षीया खाम्चा मगरले जङ्गलबाट ल्याएको च्याउ सेवन गरेपछि बिरामी परेका थिए । उनीहरूसँगै ५० वर्षीया याममाया जर्घा मगर पनि बिरामी परेकी छन् ।

गत जेठ १ गते साँझ च्याउ खाएपछि उनीहरूमा वान्ता र झाडापखाला देखिएपछि उपचारका लागि युनाइटेड मिसन अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पा का प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई का अनुसार कामु मगरको जेठ ४ गते तथा खाम्चा मगरको जेठ ५ गते उपचारकै क्रममा मृत्यु भएको हो ।

याममाया जर्घा मगरको भने अहिले पनि युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । मनसुन नजिकिँदै जाँदा जिल्लामा विषालु च्याउ सेवनका घटना बढ्न थालेका छन् । स्वास्थ्य कार्यालय पाल्पा का अनुसार हालसम्म जिल्लामा एक दर्जनभन्दा बढी व्यक्ति विषालु च्याउ सेवनबाट बिरामी परिसकेका छन् ।

यसैबीच निस्दी गाउँपालिका–४ भिरपानी मा पनि विषालु च्याउ खाँदा दुई जना बिरामी भएका छन् । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा का अनुसार दुवैको अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी तानसेन नगरपालिका–११ भालुवन घर भई तानसेन–४ मा बस्दै आएका एकै परिवारका चार जना पनि विषालु च्याउ सेवनबाट बिरामी भएका छन् । उनीहरूको उपचार युनाइटेड मिसन अस्पतालमा भइरहेको छ । माथागढी गाउँपालिका–३ कसेनी भैंसीकट्टा का चार जना भने उपचारपछि घर फर्किएका छन् । साथै मदनपोखरा का दुई जनाले पनि उपचारपछि घर फर्किएको जनाइएको छ ।

Facebook Comments Box