सगरमाथामा दुई ऐतिहासिक कीर्तिमान, कामिरिता र लाक्पा शेर्पाको नयाँ उपलब्धि

काठमाडौं, ४ जेठ – नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ का रूपमा परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ का रूपमा चिनिनुहुने लाक्पा शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

पर्यटन विभागका अनुसार कामिरिताले पुरुषतर्फ ३२ औँ पटक तथा लाक्पाले महिलातर्फ ११ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै सबैभन्दा धेरै पटक सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान कायम गर्नुभएको हो । विभागका निर्देशक हिमाल गौतमले सगरमाथा आरोहण साहसिक मात्र नभई अत्यन्त जोखिमपूर्ण यात्रा भएको उल्लेख गर्दै यी उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर थप प्रतिष्ठित र गौरवपूर्ण बनाएको बताउनुभयो ।

उहाँका अनुसार नेपाली महिला पनि साहसिक र चुनौतीपूर्ण क्षेत्रमा पुरुषभन्दा कम नरहेको सन्देश लाक्पाको उपलब्धिले विश्वसामु प्रवाह गरेको छ । पर्यटन विभागले दिएको जानकारीअनुसार कामिरिताले आइतबार बिहान १० बजेर १२ मिनेटमा तथा लाक्पाले बिहान ९ बजेर ३० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो ।

सोलुखुम्बुको थामेमा सन् १९७० जनवरी १७ मा जन्मिनुभएका कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसयता उहाँले निरन्तर रूपमा सर्वोच्च शिखर चुम्दै आउनुभएको छ । गत वर्ष उहाँले ३१ औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो भने त्यसअघि २९ औँ र ३० औँ आरोहणको कीर्तिमान पनि कायम गर्नुभएको थियो ।

त्यस्तै सङ्खुवासभाको मकालु–२ मा सन् १९७३ मा जन्मिनुभएकी लाक्पा शेर्पाले यसअघि सन् २०२२ मा १० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । यस वर्ष उहाँले आफ्नै कीर्तिमान तोड्दै ११ औँ पटक सफल आरोहण गर्नुभएको हो ।

७३ वर्षमा ७०४ महिला पुगे सगरमाथाको चुचुरोमा

पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथामा पहिलो मानव पाइला टेकेको ७३ वर्षको अवधिमा ७०४ महिला आरोही सर्वोच्च शिखरमा पुगिसकेका छन् । ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२५’ अनुसार पछिल्लो एक दशकमा मात्रै ४२५ महिलाले सगरमाथा आरोहण गरेर आफ्नो साहस प्रदर्शन गरेका छन् ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरे पनि महिला आरोहीको पाइला भने २२ वर्षपछि पुगेको थियो । सन् १९७५ मे १६ मा जापानी आरोही जुन्को ताबेई पहिलो महिला सगरमाथा आरोही बन्नुभएको थियो । त्यसपछि सन् १९९३ अप्रिल २२ मा पासाङ ल्हामु शेर्पा पहिलो नेपाली महिला आरोही बन्नुभएको थियो । तर शिखरबाट फर्किने क्रममा उहाँको निधन भएको थियो ।

विभागका अनुसार सन् २०१५ मा गएको भूकम्प र हिमपहिरोका कारण आरोहण याम प्रभावित हुँदा एक जनाले पनि सगरमाथा आरोहण गर्न सकेका थिएनन् । उक्त वर्ष हिमपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए । त्यसपछि भने महिला आरोहीको सहभागिता निरन्तर बढ्दै गएको देखिएको छ ।

सन् २०१६ मा ४४ जना, २०१७ मा ३३ जना, २०१८ मा ५१ जना, २०१९ मा ६५ जना महिलाले सगरमाथा आरोहण गरेका थिए । कोरोना महामारीका कारण सन् २०२० मा आरोहण बन्द गरिएको थियो । त्यसपछि सन् २०२१ मा ४४ जना, २०२२ मा ६९ जना, २०२३ मा ६६ जना र २०२४ मा ६३ जना महिला आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

Facebook Comments Box