महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध
म्याग्दी, २९ वैशाख – बेनी–जोमसोम–कोरला सडक अन्तर्गत महभिर क्षेत्रमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक आज बिहानदेखि अवरुद्ध भएको छ। अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिरमा ढुङ्गा र माटोसहितको पहिरो खस्दा ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो।
सडक अवरुद्ध भएपछि बेनी बाट मुस्ताङ तर्फ र जोमसोम बाट बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। घटनाले मुस्ताङ भ्रमणमा जाने पर्यटक तथा मुक्तिनाथ दर्शनका लागि यात्रा गर्ने तीर्थयात्रीसमेत प्रभावित भएका छन्। सागर तिमिल्सिना का अनुसार सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।
स्थानीयका अनुसार महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट निरन्तर पहिरो झर्ने समस्या रहेको छ। सामान्य वर्षा हुँदा पनि लेदोसहित पहिरो खस्ने भएकाले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ।

