आज २५७०औँ बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा
काठमाडौँ, १८ वैशाख – आज २५७०औँ बुद्ध जयन्ती देशभर मनाइँदै छ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सिद्धार्थ गौतम ले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिन नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीले श्रद्धापूर्वक उत्सव मनाउने परम्परा छ।
लुम्बिनी मा आज विशेष समारोह आयोजना गरिएको छ। बुद्ध जन्मस्थललाई आकर्षक रूपमा सजाइएको छ—मायादेवी मन्दिर, पवित्र पुष्करिणी पोखरी र आसपासका क्षेत्रहरू बत्तीहरूले झिलीमिली बनाइएका छन्। साथै, विभिन्न स्तूपा र विहारहरू पनि सजाइएका छन्। लुम्बिनी विकास कोष ले सरसफाइ अभियान सञ्चालन गरेर क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाएको जनाएको छ। मुख्य समारोह अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा आयोजना हुँदैछ।
लुम्बिनीको कार्यक्रममा प्रधानमन्त्री बालेन शाह सहभागी नहुने जनाइएको छ। प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल तथा विशिष्ट अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल सहभागी हुने कार्यक्रम रहेको छ।
बुद्ध जयन्ती मनाउन देश–विदेशबाट हजारौँ श्रद्धालु लुम्बिनी पुगेका छन्। सुरक्षा व्यवस्था कडा बनाइएको छ भने शान्तिपूर्ण वातावरणमा पर्व मनाउने व्यवस्था गरिएको छ। यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेका द्वन्द्वबीच शान्ति, सहअस्तित्व र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ।

