बागमती किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण सुरु, सुरक्षा कडा
काठमाडौँ, १८ वैशाख – दोस्रो चरणअन्तर्गत सरकारले आजदेखि बागमती नदी तथा यसका सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्ने अभियान सुरु गरेको छ। यससँगै प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानान्तरण भइरहेका बस्तीका घरधुरीलाई सरसामान सार्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन्। आफ्नै व्यवस्था गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन बसको व्यवस्था गरिएको छ।
शहरी विकास मन्त्रालय का अनुसार प्रभावितहरूका लागि तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवा उपलब्ध गराइएको छ। यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवैमा प्रदान गरिनेछ। सङ्कलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिने जनाइएको छ।
पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ। पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग दिइने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। यसैबीच, नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी दोषी पाइए कानुनी कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

