विनाशकारी भूकम्प गएको १० वर्ष पूरा
काठमाडौं, १२वैशाख – वैशाख २०७२ (२५ अप्रिल २०१५) का दिन गोरखा भूकम्प २०१५ गएको थियो, जसको केन्द्रबिन्दु बारपाक थियो। ७.६ रेक्टर स्केलको उक्त विनाशकारी भूकम्प बिहान ११ बजेर ५६ मिनेटमा गएको थियो। भूकम्पपछि वैशाख १३ र वैशाख २९ गते शक्तिशाली परकम्पहरू समेत गएको थियो। यस प्रकोपले काठमाडौँ उपत्यकासहित देशका १४ जिल्लालाई अति प्रभावित बनाएको थियो।
भूकम्पका कारण करिब ९ हजार मानिसको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। लाखौँ मानिस घरबारविहीन भई विस्थापित भएका थिए। ६ लाखभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका थिए। यस विनाशकारी घटनाले धरहरा, काठमाडौं दरबार स्क्वायर लगायतका सयौँ ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्याएको थियो।
विशेषगरी सिन्धुपाल्चोक जिल्ला, दोलखा जिल्ला, काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौँ जिल्ला, ललितपुर जिल्ला, भक्तपुर जिल्ला, नुवाकोट जिल्ला, रामेछाप जिल्ला, ओखलढुङ्गा जिल्ला, गोरखा जिल्ला, धादिङ जिल्ला, मकवानपुर जिल्ला, सिन्धुली जिल्ला, रसुवा जिल्ला र सोलुखुम्बु जिल्ला मा ठूलो क्षति पुगेको थियो।
यसै सन्दर्भमा, राष्ट्रपति रामचन्द्र पौडेल ले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन आवश्यक रहेको बताउनु भएको छ । दसौँ भूकम्प स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै उनले जनचेतना अभिवृद्धि, पूर्वतयारी र सुरक्षात्मक उपायमा जोड दिएका हुन्।
उनले भूकम्पलाई रोक्न नसकिने भए पनि उचित तयारी र सचेतनाबाट जोखिम कम गर्न सकिने उल्लेख गरेका छन्। नेपालको भौगोलिक अवस्थिति र असुरक्षित संरचनाले जोखिम बढाउने भएकाले सुरक्षित निर्माण र भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोगमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्। साथै, भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुनर्निर्माणमा योगदान दिने सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

