कालीकोटमा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं, २५ चैत  – जुम्लाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । जुम्लाको हिमा गाउँपालिकाबाट छुटेको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँका २६ वर्षीय एम्बुलेन्स चालक शक्तिबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्री का अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय कलबहादुर अधिकारीलाई नेपालगञ्ज लैजाने क्रममा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामै बिरामीका छोरा भीमबहादुरको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा परी कलबहादुर अधिकारी र हिमा–७ का २० वर्षीय लोकेन्द्र शाही घाइते भएका छन् । कलबहादुरको खुट्टामा चोट लागेको छ भने लोकेन्द्रको कान र पेटमा सामान्य चोट लागेको छ । दुवैको हाल कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार सडकमा लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box