बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौँ, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन्।

समारोहका सबै तयारी पूरा भइसके पनि शपथ ग्रहण प्रक्रिया करिब दुई मिनेट ‘होल्ड’ गरी पछि मात्र औपचारिक रूपमा अघि बढाइएको थियो। पेशाले इन्जिनियर तथा चर्चित र्‍यापरसमेत रहेका शाह आफ्नै पहिचान झल्किने ‘कालो कोट र कालो चश्मा’ शैलीमै समारोहमा उपस्थित भएका थिए।

प्रधानमन्त्री शाहले मन्त्रिमण्डल गठन गर्दै पाँच जना महिलालाई मन्त्री नियुक्त गरेका छन्। यस कदमलाई समावेशितातर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। वैकल्पिक राजनीतिको उदयसँगै देशको कार्यकारी प्रमुख बनेका शाहको नेतृत्वलाई नेपाली राजनीतिमा नयाँ मोडका रूपमा विश्लेषण गर्न थालिएको छ।

प्रधानमन्त्री नियुक्त हुनुअघि बिहीबार मात्रै उनले नयाँ गीत सार्वजनिक गरेका थिए, जसले उनको बहुआयामिक व्यक्तित्वलाई थप चर्चामा ल्याएको छ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box