देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, १२ चैत – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरूलाई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न निर्देशन दिनुभएको छ।
प्रतिनिधिसभा सदस्यहरूले सपथ लिएलगत्तै च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सांसदहरूलाई जनहित, सुशासन र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
पूर्वप्रधानमन्त्री ओलीले विगतमा पनि पार्टीले जनतामुखी काम गरेको स्मरण गराउँदै आगामी दिनमा समृद्धि र विकासका लक्ष्य हासिल गर्न सक्रिय हुनुपर्ने बताए। उनले गलत प्रचार र भ्रमपूर्ण आरोपको एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिए।
“हामीविरुद्ध तथ्यहीन र भ्रमपूर्ण आक्रमण हुन सक्छ, त्यसको डटेर सामना गर्नुपर्छ,” उनले भने, “हामी सत्यको मार्गमा छौँ र रहनेछौँ, त्यसैले हरेस खानुपर्ने अवस्था छैन।”
उनले पार्टी एकता, अनुशासन र नीति–निर्णयअनुसार काम गर्न नेता तथा सांसदहरूलाई निर्देशन दिए। विश्व राजनीतिमा बढ्दो अस्थिरता र अराजकताबारे टिप्पणी गर्दै उनले संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय संस्थाहरू समेत प्रभावहीन बन्दै गएको धारणा व्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्याललगायत नेताहरूको सहभागिता रहेको थियो।

