आज चैते दसैँ, शक्तिपीठहरूमा विशेष पूजा गरी मनाइँदै

काठमाडौँ, १२ चैत – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ। वर्षमा चार नवरात्र पर्ने भए पनि असोज शुक्ल पक्षको नवरात्र (बडादसैँ) सबैभन्दा प्रचलित मानिन्छ। सो अवसरमा घटस्थापना गरी जमरा राख्ने र दशमीका दिन टीका–जमरा लगाउने परम्परा रहँदै आएको छ।

चैते दसैँमा भने धेरै परिवारमा जमरा राख्ने चलन कम भए पनि अष्टमी र नवमीलाई विशेष रूपमा मनाइन्छ। हनुमानढोकाको दसैँघरमा घटस्थापना गरी विधिपूर्वक पूजा र अष्टमीका दिन बलि दिने परम्परा रहेको छ। नवमीका दिनलाई राम नवमीका रूपमा मनाइन्छ, जुन श्रीरामको जन्मसँग सम्बन्धित छ।

चैते दसैँको पूजा–उपासना पनि बडादसैँजस्तै सुख, शान्ति र समृद्धिको कामना तथा पारिवारिक जमघटसँग जोडिएको छ। उपत्यकाका गुह्येश्वरी मन्दिर, मैतीदेवी मन्दिर, नक्साल भगवती मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती मन्दिर, कालिकास्थान, बज्रयोगिनी मन्दिरलगायत शक्तिपीठमा विशेष पूजा भइरहेको छ।

यसैगरी उपत्यका बाहिर मनकामना मन्दिर, पालाञ्चोक भगवती मन्दिर, चण्डेश्वरी मन्दिर, शैलेश्वरी मन्दिरलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ। चैत्र नवरात्रका रूपमा समेत चिनिने यस पर्वमा शक्तिपीठमा पूजा–आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

Facebook Comments Box