सुनसरीमा चैते धान रोपाइँमा किसान व्यस्त
सुनसरी, १२ चैत – सुनसरीका किसान यतिबेला चैते धान रोपाइँमा व्यस्त बनेका छन्। पर्याप्त सिँचाइ सुविधा पुगेका तथा सिमसार क्षेत्रका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ। जिल्लामा चैते (हिउँदे) र बर्खे गरी वर्षमा दुईपटक धान उत्पादन हुने गरेको छ। मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुई बालीबाट आम्दानी लिन सकिने भएकाले किसानको आकर्षण बढ्दो छ।
रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ। समयमै चैते धान रोपाइँ गर्न सके उत्पादन राम्रो हुने र सोही खेतमा बर्खे धानसँगै फापर वा तोरी पनि लगाउने गरिएको उहाँले बताउनुभयो।
जिल्लामा हाल करिब चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ। गत वर्ष चार हजार छ हेक्टरमा गरिएको खेतीबाट २३ हजार १६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सूचना अधिकारी प्रवीनलाल श्रेष्ठका अनुसार चैते धानमा बर्खे धानको तुलनामा रोग तथा कीरा कम लाग्ने र उत्पादन राम्रो हुने भएकाले किसानको आकर्षण बढिरहेको छ। जिल्लामा विशेषगरी चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोपिन्छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५, ६ र ७, रामधुनी–६, ७ र ९, भोक्राहा तथा इटहरी क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ। नहर तथा पैनीमार्फत सिँचाइ सुविधा पुगेका क्षेत्रमा यस्तो खेती विस्तार हुँदै गएको छ। रामधुनी–७ का किसान डम्बर माझीका अनुसार चैत २०–२२ भित्र रोपाइँ सम्पन्न गरे राम्रो उत्पादन हुने भएकाले किसानहरू यतिबेला तीव्र रूपमा खेतमा व्यस्त छन्।

