वैशाखयता देशभर ७,२३१ विपद्का घटना, ४७९ जनाको मृत्यु

काठमाडौँ, १२ चैत – गत वैशाख १ गतेदेखि हालसम्म देशभर ७ हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् भने ४७९ जनाको मृत्यु भएको छ। यस अवधिमा १ हजार ८०० जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा बढी ३ हजार ४८० आगलागीका घटना भएका छन्। त्यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षाका ४४२, चट्याङका ४०६ र सर्पदंशका ६०० घटना भएका छन्। यसैगरी, वन डढेलो २७९, हुरीबतास ४५१, जनावर आक्रमण ५०४, लेक लाग्ने १२३ र हिउँपहिरोका पाँच घटना भएका छन्।

अन्य विपद्मा भूकम्पका सात, असिना तथा डुङ्गा पल्टिएका दुई–दुई घटना तथा शीतलहरसहितका अन्य घटना पनि समावेश छन्। प्राधिकरणका अनुसार चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म मात्र २६ वटा विपद्का घटना भएका छन्। सो अवधिमा नौ जिल्लाका १३ स्थानमा आगलागी हुँदा १० जना घाइते भएका छन्।

Facebook Comments Box