चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ, ११ चैत – गण्डकी प्रदेशस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा चैते दसैँका अवसरमा भक्तजनको उल्लेख्य भीड बढेको छ। नवदुर्गा आरम्भ भएयता दैनिक रूपमा दर्शनार्थीको सङ्ख्या वृद्धि हुँदै गएको छ भने मङ्गलबारदेखि चैते दसैँ मेला पनि सुरु भएको छ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्तजन आउने गरेका छन् र यस वर्ष भीड अझ बढेको देखिएको छ। शुक्रबारदेखि सुरु भएको नवदुर्गा अवधि नवमीसम्म जारी रहनेछ, जसअवधि भक्तजनहरू पूजाआजाका लागि मन्दिर पुग्ने गर्दछन्। चैते दसैँमा अष्टमीलाई विशेष रूपमा शुभ मानिने गरिन्छ भने यस वर्षको मुख्य दिन चैत १२ गते परेको छ।

करिब तीन सय वर्षअघिदेखि मन्दिर परिसरमा चैते दसैँका अवसरमा मेला लाग्दै आएको छ। गुठी व्यवस्थापन समितिले मेलालाई व्यवस्थित बनाउन व्यापारिक स्टल, मनोरञ्जनका संरचना लगायतको व्यवस्था गरेको छ। देशका विभिन्न भागबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम जारी रहेको छ। चैते दसैँको प्रतिपदादेखि राम नवमीसम्म करिब १० लाख भक्तजन मन्दिरमा आउने अनुमान गरिएको छ।

आगन्तुकका लागि आवास, भोजन तथा अन्य आवश्यक सुविधा पनि मिलाइएको छ। मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्। साथै स्थानीय किसानहरूले उत्पादन गरेका काठका सामग्री, बाँसुरी तथा बाँस–निगालोबाट बनेका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन्।

इतिहासअनुसार यस मन्दिरमा विसं १५९१ देखि पूजा हुँदै आएको मानिन्छ। किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गरेको विश्वास गरिन्छ।

Facebook Comments Box