सल्लाघारीमा बस ठोक्किएको ‘दृश्य’—वास्तवमा आपतकालीन अभ्यास
भक्तपुर, १० चैत – भक्तपुर नगरपालिका–१ सल्लाघारी चोकमा दुई बस ठोक्किँदा दुई जनाको मृत्यु र १९ जना घाइते भएको ‘दृश्य’ आज प्रस्तुत गरियो। तर यो वास्तविक दुर्घटना नभई आपतकालीन उद्धार र उपचारको कृत्रिम अभ्यास थियो।
अभ्यासका क्रममा नेपाल रेडक्रस सोसाइटीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य उद्धारकर्मीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गर्दै तत्काल उद्धार गरेका थिए। घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याएर आकस्मिक कक्षमा उपचार गरिएको अभ्यासमा देखाइएको थियो।
यो अभ्यास भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर तथा सशस्त्र प्रहरी बलको सहकार्यमा आयोजना गरेको हो।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलदेखि अस्पतालसम्मको सम्पूर्ण उद्धार, उपचार र भीड व्यवस्थापनबारे तयारी परीक्षण गर्न यस्तो अभ्यास गरिएको बताए। उनले यसले भविष्यमा हुन सक्ने विपद्मा प्रभावकारी सेवा दिन मद्दत पुग्ने उल्लेख गरे।
अस्पतालका निर्देशक डा सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपद्मा पनि तयारी अवस्थामा रहेको सन्देश दिन अभ्यास गरिएको बताए।
त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा कृपा महर्जनले अभ्यासलाई उपलब्धिमूलक बताउँदै भविष्यका चुनौती सामना गर्न यसले क्षमता वृद्धि गर्ने बताइन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार यस्तो अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीलाई विपद्मा काम गर्ने व्यावहारिक सीप सिकाउने काम गरेको छ।

