विश्वमा १ करोड ७ लाख सक्रिय क्षयरोगी, नेपालका ४२% उपचार बाहिर
भक्तपुर, १० चैत – ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नारासहित देशभर विविध कार्यक्रम गरी क्षयरोग दिवस मनाइएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलका अनुसार सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिइएको छ।
उनले नेपालमा अझै पनि ४२ प्रतिशत क्षयरोगी उपचारको पहुँच बाहिर रहेको जानकारी दिए। रोग लुकाउने, परीक्षण नगर्ने तथा प्रविधिको सीमित प्रयोगका कारण रोग नियन्त्रणमा चुनौती देखिएको उनको भनाइ छ।
आर्थिक वर्ष २०८१/८२ मा औषधि–संवेदनशील क्षयरोगका ३९ हजार १५१ नयाँ बिरामी पहिचान भएका छन्। तीमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन्।
सरकारले देशभर ६ हजार २४१ स्वास्थ्य संस्थाबाट क्षयरोग उपचार सेवा प्रदान गरिरहेको छ। साथै ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क सञ्चालनमा छन्।
औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन् भने १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ। परीक्षणका लागि ९ वटा एआई–जडित डिजिटल एक्स–रे पनि सञ्चालनमा ल्याइएको छ।
विश्वव्यापी रूपमा हरेक वर्ष करिब १ करोड ७ लाख मानिसमा सक्रिय क्षयरोग देखिने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोगकै कारण वार्षिक करिब १२ लाख ३० हजार मानिसको मृत्यु हुने गरेको छ।

