मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी, ३ चैत – म्याग्दी जिल्ला मा सुक्खायामसँगै वन डढेलोको जोखिम बढ्दै गएको छ। आगोको जथाभावी प्रयोगका कारण वनजङ्गल, वन्यजन्तु, जडीबुटी तथा पर्यावरणमा गम्भीर क्षति पुग्ने गरेको छ। डिभिजन वन कार्यालय का प्रमुख वसन्तकेशव अधिकारी का अनुसार करिब ९६ प्रतिशत डढेलोका घटना मानवीय लापरवाहीका कारण हुने गरेको पाइएको छ।

“घाँस पलाउने बहाना, अवैध सिकार, खोरिया फडानी, वन अपराध लुकाउने प्रयास तथा आपसी रिसइवीका कारण आगो लगाउने प्रवृत्तिले डढेलोको जोखिम बढाएको छ,” उहाँले बताउनुभयो। फागुनदेखि जेठसम्मको अवधिमा डढेलोका घटना बढी हुने गरेका छन्। यसले रुखबिरुवा, जडीबुटी, वन्यजन्तु तथा पन्छीको बासस्थान नष्ट गर्ने मात्र नभई विगतमा मानवीय क्षतिसमेत निम्त्याएको छ। जोखिमको आधारमा म्याग्दी नेपालका ७७ जिल्लामध्ये ३०औँ स्थानमा पर्छ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा १०२ स्थानमा ७९० हेक्टर, २०८०/८१ मा १४५ स्थानमा ८९० हेक्टर र २०८१/८२ मा ११५ स्थानमा ८०५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पुर्‍याएको छ। वन अधिकृत चन्द्रमणि सापकोटा का अनुसार चालु आर्थिक वर्षमा डढेलोबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ।

डढेलो नियन्त्रणका लागि सुरक्षा निकाय, प्रशासन, स्थानीय तह तथा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गर्दै रोकथाम तथा नियन्त्रण योजना कार्यान्वयनमा ल्याइएको छ। सम्भव भएसम्म मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा जोड दिइएको छ।

त्यसैगरी, वन उपभोक्ता र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराइएको वन अधिकृत शान्तिकुमारी शाही ले जानकारी दिनुभयो। उहाँका अनुसार वन्यजन्तुलाई पानीको अभाव नहोस् र बस्तीमा नआउन् भन्ने उद्देश्यले छ वटा सामुदायिक वनमा पोखरी निर्माणको तयारी गरिएको छ।

जिल्लामा करिब दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ भने ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र रहेको छ। साथै यहाँ तीन सय ११ वटा सामुदायिक वन उपभोक्ता समूह सक्रिय छन्।

Facebook Comments Box