नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड-१९ एन्टिबडी

काठमाडौं, १३ भदौ – नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड-१९ एन्टिबडी बनेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभ्यालेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो ।

सर्वेक्षणका क्रममा ६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटेर २१ असारदेखि ३० साउनसम्म १३ हजार १६१ नमुना संकलन गरिएको थियो । ३ करोड जनसंख्यालाई नै प्रतिनिधित्व गर्ने गरी नमुना संकलन गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

उनका अनुसार २५० घर भएको ठाउँमा १० घरको नमुना लिइएको थियो । छनोट भएका घरमा चिठ्ठा प्रणालीअनुसार जो पर्छ, उसकै नमुना लिँदा कोभिड भएका–नभएका, खोप लगाएका–नलगाएका सबै पर्छन् ।

अध्ययनको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार भनेको छ, ‘यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरि ६८.६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको छ ।’

अर्थात् कुल जनसख्ंया ३ करोड (अनुमानित)मध्ये २ करोडभन्दा बढीमा एन्टिबडी बनेको देखिन्छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का अनुसन्धान प्रमुख मेघनाथ धिमाल भन्छन्, ‘१०० जनामा ६८ जना मान्छेहरुमा कोभिडविरुद्धको एन्टिबडी बनेको रहेछ भनेर बुझ्नुपर्छ ।’

यो अध्ययनले नेपालका कति मानिसलाई कोरोना संक्रमण भयो भन्ने त बताउँदैन । किनकि सेरो प्रिभ्यालेन्स सर्भेले देखिएको ६८.८ प्रतिशतमा एन्टिबडी कोरोना संक्रमण भएर वा भ्याक्सिन लगाएका कारण बनेको हुनसक्छ ।

तर संक्रमितको संख्या अनुमान गर्न सकिन्छ । सर्भेका क्रममा नमुना संकलन गरिएको अन्तिम दिन ३० साउनमा ४७ लाख बढी (दुवै डोज लगाउने ३४ लाख ९० हजार ६५ र पहिलो डोज मात्र लगाउने १२ लाख २६ हजार ८७१)ले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

यो संख्या घटाउने हो भने पनि डेढ करोडभन्दा बढी मानिसलाई कोरोना संक्रमण भएको देखिन्छ । जबकि सरकारी तथ्यांकमा आइतबार (१३ भदौसम्म) ८ लाख ४२ हजार १९३ जना मात्र संक्रमित भएको देखिन्छ ।

Facebook Comments Box