उद्यमीलाई बिनाधितो ऋण
म्याग्दी, ३० फागुन – जलजला गाउँपालिका ले उद्यमशीलता प्रवर्द्धनका लागि उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ। तीन वर्षअघि सुरु गरिएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई रु ४९ लाख ७५ हजार लगानी गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्य का अनुसार ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार थप रु नौ लाख अनुदान वितरण गरिएको हो। उक्त कार्यक्रममार्फत छनोट भएका उद्यमीलाई किस्ताबन्दीमा फिर्ता गर्ने गरी प्रतिव्यक्ति रु एक लाखसम्म सहुलियत ऋण उपलब्ध गराइन्छ।
उहाँका अनुसार टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउने तथा आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले पछिल्ला तीन वर्षदेखि घुम्ती कोषमार्फत सहयोग गर्दै आएको छ। यसअघि गत कात्तिकमा १२ जनालाई रु १२ लाख, विसं २०८१ मा २० जनालाई र २०८० मा नौ जनालाई सहयोग गरिएको थियो।
यसपटक ऋण पाउनेमा वडा नं १ का चक्रे दमाई, वडा नं ३ का सोमबहादुर दमाई, दुर्गा रेग्मी र शन्तु भण्डारी, वडा नं ४ का रिता मल्ल, बसन्तीकुमारी मल्ल र दुर्गबहादुर दर्जी, वडा नं ६ का कौशिला नेपाली तथा वडा नं ७ का रोहितप्रसाद आचार्य रहेका छन्। घुम्ती कोषबाट प्राप्त रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्ने व्यवस्था छ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य का अनुसार असल उद्यमी निर्माण, उद्यमशीलताको विकास, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र युवाको विदेश पलायन न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
पालिकाभित्र फलफूल तथा तरकारी उत्पादन, पशुपालन, घरेलु औजार तथा उपकरण निर्माणजस्ता व्यवसाय गर्दै आएका उद्यमीलाई प्रोत्साहन मिल्नुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

