खाना पकाउने तेलको मूल्य एक महिनामै ह्वात्तै बढ्यो
काठमाडौँ, २९ फागुन – पछिल्लो एक महिनामा बजारमा खाना पकाउने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको छ। पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धिलाई कारण देखाउँदै व्यापारीहरूले प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म मूल्य बढाएका हुन्। माघको अन्तिम सातातिर प्रतिलिटर २५० देखि २७५ रुपैयाँमा पाइने सनफ्लावर तेल फागुनको मध्यसम्म आइपुग्दा प्रतिलिटर २९० रुपैयाँभन्दा माथि पुगेको छ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने बजारभन्दा केही सस्तो मूल्यमा तेल बिक्री गरिरहेको जनाएको छ। कम्पनीका अनुसार भटमासको तेल प्रतिलिटर २४० रुपैयाँ, सनफ्लावर तेल २७५ रुपैयाँ र विभिन्न ब्रान्डका तोरीका तेल २५५ देखि ३६० रुपैयाँसम्ममा उपलब्ध छन्। तर निजी क्षेत्रका खुद्रा पसलहरूमा भने मूल्य वृद्धि बढी देखिएको छ।
किन बढ्यो तेलको मूल्य ?
नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य वृद्धि र ढुवानी मार्गमा देखिएको अवरोधले मूल्य बढाएको हो।
उनका अनुसार अर्जेन्टिना र इन्डोनेसियाबाट कच्चा तेल बोकेर आउने जहाजहरू ढुवानी मार्गमै रोकिएका छन्। “डलरको मूल्य बढेको र ढुवानी मार्गमा अवरोध आएको कारण भेसलहरू बाटोमै अड्किएका छन्,” उनले भने। यसले आपूर्ति घटाउनुका साथै ढुवानी लागत पनि बढाएको उनको भनाइ छ।
धान र चामल जस्तो खाद्यवस्तु छिमेकी भारतबाट सजिलै आयात हुने भए पनि खानेतेलका लागि नेपाल तेस्रो मुलुकमै निर्भर रहनुपर्ने अवस्था रहेको उनले बताए। अन्तर्राष्ट्रिय स्तरमा भइरहेका द्वन्द्वका कारण ढुवानी सेवा प्रभावित हुँदा नेपाली बजारमा मूल्य वृद्धि भएको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पाम तेलको मूल्य प्रतिटन ९५० देखि १ हजार अमेरिकी डलरसम्म पुगेको छ। सोयाबिन तेल प्रतिटन ९८० देखि १ हजार ५० डलर तथा सूर्यमुखी तेल प्रतिटन ९०० देखि ९५० डलर हाराहारीमा कारोबार भइरहेको छ। यसैबीच नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ महिनामा घ्यू तथा तेलको मूल्य ७.६१ प्रतिशतले बढेको देखिएको छ। फागुन महिनामा यो वृद्धि दर अझै बढ्न सक्ने अनुमान गरिएको छ।
बजार अनुगमन कडाइ
बजारमा खाने तेलको मूल्य अनियन्त्रित रूपमा बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको जनाएको छ। विभागका निर्देशक नरहरि तिवारीका अनुसार मूल्यवृद्धिको वास्तविक कारण पत्ता लगाउन सूक्ष्म अध्ययन र ‘भेरिफिकेसन’ भइरहेको छ। “अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा अवरोध आएको भनिए पनि हामी यसको गहिराइमा पुगेर अध्ययन गरिरहेका छौँ,” उनले भने।
उनका अनुसार बजारमा खाने तेलको मौज्दात पर्याप्त रहेको र कृत्रिम अभाव सिर्जना गर्ने वा कार्टेलिङ गरी मूल्य बढाउनेलाई कारबाही गरिनेछ। उपभोक्ता अधिकारकर्मीहरूले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुअघि नै मौज्दातमा रहेको तेलसमेत नयाँ मूल्यमा बेच्ने प्रवृत्ति बढेको भन्दै सरकारले कडा निगरानी र कारबाही गर्नुपर्ने माग गरेका छन्।

