आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २९ फागुन – हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भाग, साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। ती क्षेत्रका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। महाशाखाले हिमपात र वर्षाको सम्भावित क्षेत्रका सर्वसाधारण, यातायात साधन सञ्चालन गर्नेहरू तथा ती भेगमा यात्रा गर्नेलाई सतर्क रहन अनुरोध गरेको छ।

