कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर
कञ्चनपुर, २९ फागुन – बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम बढ्दै गएको छ। पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र नयाँ पालुवा पलाउने क्रम जारी रहेकाले सुक्खा वातावरणका कारण सानो आगोको झिल्कोले समेत ठूलो डढेलोको रूप लिन सक्ने खतरा बढेको हो।
संवेदनशील अवस्था भए पनि जिल्लामा डढेलो नियन्त्रणका लागि प्रभावकारी पूर्वतयारी पर्याप्त रूपमा हुन नसकेको सरोकारवालाले बताएका छन्। चुरे फेदीका वन क्षेत्र तथा लालझाडी–मोहना संरक्षण क्षेत्र आसपासका क्षेत्रमा डढेलोको जोखिम उच्च रहेको जनाइएको छ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सचेतनामूलक कार्यक्रम पर्याप्त रूपमा सञ्चालन हुन सकेका छैनन्। उहाँले पछिल्लो समय निर्वाचनको माहोलमा वन संरक्षणका विषय ओझेलमा परेको बताउनुभयो।
“वन क्षेत्रमा आगलागी रोक्न आवश्यक तयारी गर्नुपर्ने हो, तर त्यसतर्फ सरकारी तथा गैरसरकारी निकायको ध्यान खासै गएको देखिँदैन,” उहाँले भन्नुभयो। लामो समयदेखि वर्षा नपरेको र वातावरण अत्यन्त सुक्खा बन्दै गएकाले डढेलोको सम्भावना अझ बढेको उहाँको भनाइ छ।
सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीका अनुसार डढेलो लागे जैविक विविधतामा प्रत्यक्ष असर पर्छ। ठूलो आकारका जनावर भाग्न सक्ने भए पनि साना जीवजन्तु र सरीसृप आगोबाट जोगिन नसक्ने भएकाले ठूलो क्षति हुने जोखिम हुन्छ। साथै काठ, जडीबुटी तथा अन्य वनसम्पदा जलेर नष्ट हुने खतरा पनि उत्तिकै रहेको उहाँले बताउनुभयो।
डढेलोको जोखिम न्यूनीकरण गर्न केही सामुदायिक वनले अग्निपथ (फायरलाइन) सरसफाइ तथा वनभित्र थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउने काम थालेका छन्। तर सीमित स्रोतसाधनका कारण यस्ता गतिविधि सबै वन क्षेत्रमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। लालझाडीदेखि चुरे क्षेत्र वन्यजन्तुको आवतजावतका लागि महत्त्वपूर्ण करिडोर मानिन्छ।
लालझाडी–मोहना संरक्षण क्षेत्रमा मात्रै ९४ वटा सामुदायिक वन रहेको बताइएको छ। डिभिजन वन कार्यालयले भने डढेलो न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।
कार्यालयका डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीका अनुसार सामुदायिक वनका पदाधिकारीलाई अग्निपथ सफा गर्ने तथा सुक्खा पातपतिङ्गर हटाउनेलगायतका कार्य गर्न मौखिक तथा लिखित रूपमा जानकारी गराइएको छ। डढेलोबाट हुने जोखिमबारे जनचेतना फैलाउन एफएम रेडियो तथा छापा सञ्चारमाध्यममार्फत सूचनामूलक सन्देश प्रसारण भइरहेको पनि उहाँले बताउनुभयो।
तर डढेलो नियन्त्रणका लागि पर्याप्त बजेटको अभाव रहेको उहाँले स्वीकार गर्नुभयो। सीमित स्रोतसाधनका बाबजुद कर्मचारी, सामुदायिक वन समूह, सुरक्षाकर्मी र स्थानीय उपभोक्ताबीच समन्वय गरेर सम्भावित डढेलो नियन्त्रणको तयारी भइरहेको कार्यालयले जनाएको छ।
बैजनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह महराले समयमै प्रभावकारी पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार वन संरक्षण सरकारी निकाय मात्र नभई स्थानीय समुदाय, सामुदायिक वन समूह र सरोकारवालाको साझा जिम्मेवारी हो।
सुक्खा मौसम, पतझर र मानवीय गतिविधिका कारण ती क्षेत्रमा हरेक वर्ष डढेलोको जोखिम बढ्ने गरेको छ। वन क्षेत्रमा लाग्ने ९० प्रतिशतभन्दा बढी डढेलो मानवीय कारणले हुने गरेको सरोकारवालाले बताएका छन्। वनभोजमा गएकाले आगो ननिभाइ छाड्ने, गोठालाले नयाँ घाँस पलाउने लोभमा आगो लगाउने तथा सिकारीले जनावर लखेट्न आगो प्रयोग गर्ने गतिविधिले डढेलो निम्त्याउने गरेको छ।

