जलयात्राले हतुवागढी–तराई दूरी छोटियो
भोजपुर, २९ फागुन – भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको बराहक्षेत्रसम्म सञ्चालनमा आएको जलयात्राले स्थानीय नागरिकको आवतजावत सहज भएको छ। अरुण नदीमा बोट सञ्चालन भएपछि धरान, इटहरी र विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको स्थानीयले बताएका छन्।
दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासीलाई आवतजावतमा समस्या हुने गरेको थियो। अहिले नदीमार्फत बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ। स्थानीय इन्द्र थापाका अनुसार जलमार्ग सञ्चालन भएपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सक्ने अवस्था बनेको छ।
यसअघि भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता थियो। अहिले जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने भएको छ। बराहक्षेत्रसम्म जलयात्रा गर्न रु ५०० भाडा लाग्ने गरिएको छ। पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पताल पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताउनुभयो।
हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्दा करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग उपयोगी बनेको उहाँको भनाइ छ। हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको छ।
गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोड्दै पूर्वाधार विकासका कामसमेत अघि बढाइरहेको जनाएको छ। हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यसले स्थानीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष राईले बताउनुभयो।

