पर्वतमा अफ्रिकन स्वाइन फिभर फैलिँदै, ४६ बङ्गुर मरे

पर्वत, २७ फागुन – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा पालिएका बङ्गुरमा African Swine Fever को सङ्क्रमण देखिन थालेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा रोग पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । हालसम्म सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने तथा अचानक मृत्यु हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । नमूना सङ्कलन गरी गरिएको ¥यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयले रोगको शङ्का देखिएको क्षेत्रमा अनुगमन बढाएको छ । रोग फैलिन नदिन बङ्गुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर र फर्मालिन प्रयोग गरी निसङ्क्रमण गर्ने, बिरामी बङ्गुरलाई छुट्टै राख्ने तथा फार्ममा जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।

यस्तै शङ्कास्पद अवस्थामा बङ्गुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन तथा होटल वा भान्साबाट निस्कने फोहर नखुवाउन पनि सुझाव दिइएको छ ।

पर्वतका विभिन्न पालिकामा ४० भन्दा बढी व्यावसायिक बङ्गुर फार्म सञ्चालनमा रहेका छन् । हाल सदरमुकाम आसपास क्षेत्रमा रोग पुष्टि भएकाले आवश्यक सतर्कता नअपनाए अन्य क्षेत्रमा पनि सङ्क्रमण फैलिन सक्ने भन्दै कृषकलाई सचेत रहन आग्रह गरिएको छ ।

Facebook Comments Box