कोशी प्रदेशको ताजा मत परीणाम : सोलुखुम्बुबाट कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
सोलुखुम्बुबाट कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
सोलुखुम्बु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित हुनुभएको छ। अन्तिम मतपरिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार असिम राईले नौ हजार ४१४ मत प्राप्त गर्नुभएको छ। कार्कीले राईलाई तीन हजार ७५२ मतान्तरले पराजित गर्नुभएको हो।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार कल्पना राईले आठ हजार २२८ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले तीन हजार ६४२ मत प्राप्त गर्नुभएको छ। श्रम संस्कृति पार्टीका बीएस राईले तीन हजार ३६३ मत प्राप्त गर्नुभएको छ।
उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ तथा आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मोरङ–३ मा रास्वपाका गणेश कार्की विजयी
मोरङ – मोरङ क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार इरन राईले सात हजार ७५२ मत प्राप्त गर्नुभएको छ। सो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो।
झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी
झापा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकाल निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढकालले ४३ हजार ६३१ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गर्नुभएको छ।
यसैगरी नेपाली कांग्रेसका देउकुमार थेवेले नौ हजार ४३४ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले सात हजार १६१ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले दुई हजार ८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस निर्वाचन क्षेत्रमा कुल एक लाख ३० हजार ७१२ मतदाता रहेकामा ८२ हजार ११७ मत खसेको थियो। यहाँ १५ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।
झापा–२ मा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित
झापा -प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार रानामगरले ६० हजार ११० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभएको छ।
यसैगरी श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस निर्वाचन क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो। यहाँ १५ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
इलाम–२ बाट एमालेका सुहाङ नेम्बाङ निर्वाचित
इलाम – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित हुनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतान्तरले पराजित गर्नुभएको हो।
नेम्बाङले २२ हजार ४२६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले १४ हजार ६५० मत प्राप्त गर्नुभएको छ। यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत प्राप्त गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गर्नुभएको छ।
प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो। यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा पनि उहाँ यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उक्त उपनिर्वाचनमा नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरले पराजित गर्दै २७ हजार ७७२ मत प्राप्त गर्नुभएको थियो भने खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो।
भेषराज आचार्यको भने यो दोस्रो पराजय हो। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा उहाँ सुहाङ नेम्बाङका पिता सुवासचन्द्र नेम्बाङसँग दुई हजार १०२ मतले पराजित हुनुभएको थियो। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रमा एक लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेको थियो।
त्यसमध्ये तीन हजार ८८३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारसहित १४ जनाबीच प्रतिस्पर्धा भएको थियो।
उदयपुर–२ मा रास्वपाका सूर्यबहादुर लामा विजयी
उदयपुर – उदयपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा निर्वाचित हुनुभएको छ। केहीबेरअघि सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार लामाले १४ हजार ८०२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीले सात हजार ६४८ मत प्राप्त गर्नुभएको छ।
यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले सात हजार २१० मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले पाँच हजार १९७ मत प्राप्त गर्नुभएको छ। श्रम संस्कृति पार्टीका बलराज राईले चार हजार १३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
रास्वपाका जिल्ला सचिवसमेत रहनुभएका लामा यस क्षेत्रबाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। कटारी नगरपालिका–७ मर्जेतपुरका स्थायी बासिन्दा ४१ वर्षीय लामा यसअघि पर्यटन विकास अभियन्ताका रूपमा सक्रिय रहनुभएको थियो। उहाँ २०७९ असोजदेखि रास्वपामा सक्रिय रहनुभएको छ।
सुनसरी–३ मा रास्वपाका अशोककुमार चौधरी निर्वाचित
सुनसरी – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोककुमार चौधरी निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गर्नुभएको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले एक हजार ७८० मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका दुर्गेशकुमार चौधरीले एक हजार ५५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। इटहरी उपमहानगरपालिका, गढी गाउँपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका र बर्जु गाउँपालिकाका ३५ वडा समेटिएको यस क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १८५ मत खसेको थियो।
झापा–१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी
झापा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी भारी मतान्तरले निर्वाचित हुनुभएको छ। निर्वाचन आयोगका अनुसार डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभएको छ।
यसैगरी श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार चार मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले सात हजार ६५९ मत प्राप्त गर्नुभएको छ। उक्त निर्वाचन क्षेत्रमा डाँगीले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभएको हो।

