होली घरभित्रै मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न प्रशासनको आग्रह

काठमाडौं, १५ फागुन – जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले यस वर्षको होली पर्व घरभित्रै मर्यादित रूपमा मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कार्यालयले आज जारी गरेको सूचनामा शान्तिसुरक्षा तथा आसन्न निर्वाचनलाई ध्यानमा राख्दै सार्वजनिक स्थलमा भीडभाड, मेला, महोत्सव तथा मदिरा बिक्री–वितरण नगर्न अनुरोध गरिएको छ। धार्मिक तथा सांस्कृतिक रूपमा भने आफ्नै घरपरिसरमा परिवारजन र साथीभाइसँग होली मनाउन कुनै रोक नहुने स्पष्ट पारिएको छ।

सूचनामा खुला सडक तथा सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, कार्यक्रम आयोजना गर्ने, मदिरा सेवन तथा वितरण गर्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। साथै निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिँदै होलीका अवसरमा निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचारात्मक सामग्री प्रयोग नगर्न निर्देशन दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल द्वारा जारी सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारका क्रममा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर, टोपी, टी–सर्ट, ज्याकेट, झोला लगायत सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।

त्यस्तै कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा उल्लङ्घन गर्ने तथा हो–हल्ला वा अराजक गतिविधि गर्ने कार्य कानुनविपरीत हुने भएकाले त्यस्ता गतिविधि नगर्न प्रशासनले चेतावनी दिएको छ।

Facebook Comments Box