मुग्लिन–मलेखु सडक स्तरोन्नति : कालोपत्र तीव्र

चितवन, ४ फागुन – पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मलेखु सडक खण्डको स्तरोन्नति तथा कालोपत्रको काम तीव्र पारिएको छ। हालसम्म ११ किलोमिटर सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर कालोपत्र सम्पन्न भएको हो। अन्य स्थानमा पनि तीव्र गतिमा कालोपत्रको काम भइरहेको छ।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएको सो सडक समयमा सम्पन्न नभएपछि छ महिना म्याद थप गरिएको छ। मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरणमा विभाजन गरी बोलपत्र आह्वान गरिएको थियो। यो तेस्रो चरणअन्तर्गत पर्ने खण्ड हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म करिब ४० प्रतिशत प्रगति भएको छ। कुरिनटार, फिस्लिङ, चरौदी र विशालटार क्षेत्रमा कालोपत्र सम्पन्न भएको छ भने धादिङको बाँदरेमा कालोपत्र भइरहेको छ। फिस्लिङ र जवाङ खोलामा बेस तथा सबबेस राखेर अन्तिम तयारी भइरहेको छ।

हाल झण्डै २०० मजदुर, कर्मचारी तथा प्राविधिक कालोपत्रको काममा खटिएका छन्। छ वटा पुलमध्ये हुग्दी र चरौदी पुलको फाउण्डेसनपछिको काम भइरहेको छ भने कृष्णभिरमा पहिरो रोकथामको काम पनि जारी रहेको छ। आयोजनाका अनुसार कालोपत्रका लागि आवश्यक सामग्री अभाव हुने अवस्था देखिएको छ।

हाल धादिङको चरौदी, बेनिघाट तथा इच्छाकामनाबाट सामग्री ल्याइए पनि दीर्घकालीन रूपमा अभाव हुनसक्ने जनाइएको छ। सामग्री उपलब्ध भएमा काम नरोकिने दरैको भनाइ छ। ३८ दशमलव ८६ किलोमिटर लम्बाइको यस खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन, सात दशमलव दुई किलोमिटर चार लेन तथा दुई दशमलव तीन किलोमिटर ‘क्लाइम्बिङ लेन’ निर्माण गरिनेछ। बाँकी सडक दुई लेनको हुनेछ।

शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा स्तरोन्नतिको ठेक्का लिएको छ। नाला निर्माण, पहिरो रोकथाम, भित्तो काट्ने, पर्खाल लगाउने तथा सडक सुरक्षासम्बन्धी काम पनि जारी छन्। विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो खण्ड काठमाडौँ प्रवेश र बाहिरिने मुख्य नाकाका रूपमा महत्त्वपूर्ण मानिन्छ।

Facebook Comments Box