निर्वाचनका २१ दिन बाँकीः दैनिक १५ लाख मतपत्र छापिँदै

काठमाडौँ,  २९ माघ – जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको जनाएको छ। केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छाप्नुपर्नेमा बुधबारसम्म एक करोड ५३ लाख थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

यसअघि दैनिक १३ लाख मतपत्र छापिँदै आएकामा हाल छपाइको गति बढाएर दैनिक १५ लाख पु¥याइएको उनले जानकारी दिए। “प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य तीव्र गतिमा भइरहेको छ। करिब ५० लाख मतपत्र छाप्न बाँकी छ। शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखेका छौँ, ढिलोमा शनिबारसम्म सकिन्छ,” पौडेलले भने।

उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र कम उम्मेदवार भएका जिल्लामा सानो आकारको मतपत्र छाप्नुपर्ने भएकाले केही समय छपाइमा ढिलाइ भएको केन्द्रले जनाएको छ। केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमूना मतपत्र निर्वाचन आयोगले विभिन्न स्थानमा पठाइसकेको छ।

यसअघि समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार थान मतपत्र छापेर प्याकिङ सम्पन्न गरिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको हो। बिहीबारदेखि छापिएका मतपत्र जिल्ला–जिल्लामा पठाउन थालिने जनाइएको छ। दुर्गम जिल्लामा प्राथमिकताका साथ मतपत्र पठाइने र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पु¥याइसक्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ।

Facebook Comments Box